काठमाडौं : एकदिवसीय श्रृंखलामा नेपाललाई पहिलो सफलता मिलेको छ। युएईमा जारी तीन खेलको श्रृंखलामा नेपाललाई पहिलो जीत हासिल भएको हो। नेपालले घरेलु टोली युएईलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको हो। यो जितसँगै तीन खेलको श्रृंखलालाई नेपालले १-१ को बराबरीमा ल्याएको छ।
पहिलो खेलमा नेपाल पराजित भएको थियो। भर्खरै सकिएको खेलमा नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको युएई ९७ रनमा अलआउट भएको थियो। नेपालका लागि सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिए। नेपाली बलरसामू युएईका ब्याट्सम्यान टिकेर खेल्न सकेनन्।
युएईका लागि मोहम्मद उस्मानले सर्वाधिक २६ रन जोडेका थिए। त्यसैगरी अस्फाक अहमदले २०, रन आउट भएका मोहम्मद नाविदले १९ र सिपी राजनले १६ रन जोडेका थिए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
टस जितेर ब्याटिङ रोजेको नेपालले आज सुधारिएको ब्याटिङ गरेको थियो। नेपाले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २४२ रन बनाएको थियो। शुक्रबार पहिलो खेलमा ११३ रनमै समेटिएको नेपालले दोस्रो खेलमा बलियो लक्ष्य पेश गरेको हो।
आजको खेलमा नेपालका सबैजसो ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सफल रहे। नेपालका लागि सबैभन्दा धेरै रोहितकुमार पौडेलले ५५ रन बनाए। हिजोको खेल रोहितले खेलेका थिएनन्। त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन बनाए। विनोद भण्डारी र पारस खड्काले समान २१–२१ रन बनाए। आरिफ सेखले २९ र करण केसीले १८ रन बनाए। दिपेन्द्रसिंह ऐरीले १० र पवन सर्राफले आठ रन जोडे। बलिङमा राम्रो प्रदर्शन गरेका सोमपाल कामीले भने दुई रनमात्र बनाए। सन्दीप लामछाने १४ र ललित राजवंशी तीन रनमा नट आउट रहे।
बलिङतर्फ युएईका लागि इमरान हैदरले र अमीर हयातले समान तीन-तीन विकेट लिए। अस्फाक अहमद, मोहम्मद नाविद र जहोर खानको नाममा एक-एक विकेट रह्यो।
खेलको प्लेयर अफ द म्याच सर्वाधिक विकेट लिएका नेपालका सोमपाल कामी घोषित भए। नेपाल र युएईबीचको एकदिवसीय श्रृंखलाको अन्तिम खेल सोमबार हुनेछ। त्यसपछि तीन टी-२० श्रृंखला खेल्नेछन्।
एकदिवसीय श्रृंखलामा नेपालको शानदार जीत, युएई १४५ रनले पराजित
Reviewed by https://www.jayasinghmahara.com.np/
on
January 26, 2019
Rating:
No comments: